१२ श्रावण २०८१, शनिबार

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

प्रकाशित मिति :  7 April, 2024 2:02 pm


काठमाडौँ । लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराइविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भट्टराई र उनीको आमा विरुद्ध अख्तियारले विशेष अदालत,काठमाडौँमा मुद्दा दायर गरेको हो ।

योजना प्रमुख भट्टराईको आमा जनक नन्दनी भट्टराईको नाममा जिल्ला भक्तपुर गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कि. नं. १३७४ र १३७५ क्रमशः २–९–०–१ र ०–२–१–० क्षेत्रफल भएको जग्गा खरिद गर्दा गरिएको थियो ।

जग्गा बिक्रेताको बैंक खातामा रकम जम्मा गरेको बैंक भौचरबाट देखिएको थियो । अख्तियारले जग्गा खरिद गरेको स्रोत रकम अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवा कम्पनीबाट घुस माग गरेर रकम लिएको खुलेको अख्तियारले दाबी गरेको छ ।

घुसको रुपमा लिएको रकम निर्माण सेवा कम्पनीले सिधै जग्गा खरिद गर्नका लागि तिरिदिएको खुलेको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारले भनेको छ,“कोषमा ठेक्का पट्टाको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस/रिसवत स्वरुप माग गरेको रु ८० लाख रकम निज सरोज भट्टराईले आफैले प्रत्यक्ष रुपमा नलिइ आमा जनक नन्दनी भ्टराईको नाममा जग्गा खरिद गर्दा उक्त रिसवत रकम प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको देखिन्छ ।”

भट्टराईले आफूले सिधै घुस नलिएर जग्गा बिक्रेताको खतामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए । अख्तियारले सरोजकी आमाविरुद्ध पनि भ्रष्टाचारको विरुद्ध मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !