१२ श्रावण २०८१, शनिबार

सरकारले तोकेका निषेधित क्षेत्रहरू स्वीकार्य छैन, तोडेर प्रदर्शन गर्छौंः अध्यक्ष लिङदेन

प्रकाशित मिति :  7 April, 2024 6:00 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चैत्र २७ गतेको पार्टीको विरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले सरकारले कथित रुपमा तोकेका निषेधित क्षेत्रहरू राप्रपालाई मान्य नहुने बताएका हुन् ।

अध्यक्ष लिङ्देनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे । उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको बताए ।

अध्यक्ष लिङ्देनले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरूलाई साँघुरो बनाउने प्रयत्नहरु राप्रपालाई स्वीकार्य नरहेको बताए । उनले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने स्पष्ट पारे । कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

शनिबारको प्रदर्शनमा राजनीतिक दलहरूको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरुमाथि लात्ती प्रहार गरेको भन्दै उनले भर्त्सना गरे । शनिबार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुकहरुमाथि लात्ती प्रहार गरेको थियो । सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ ।

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरूलाई एकताबद्ध भई आन्दोलनमा होमिन आग्रह गरे । उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !