२० बैशाख २०८१, बिहिबार

प्युठानमा आँधीहुरीले पुर्‍याएकाे क्षति र प्रभावितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन

प्रकाशित मिति :  7 April, 2024 6:32 pm


काठमाडौँ । प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्युठानका विभिन्न पालिकाहरूमा आँधीहुरीले पुर्‍याएकाे क्षति र प्रभावितलाई तत्काल राहत, सहयोग र क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

गृहमन्त्री रबि लामिछानेलाई सिंहदरबारमा भेटेर सांसद थापाले प्युठानमा पछिल्लो पटक आएको हावाहुरीले १ सय ६२ संरचनामा क्षति पुर्‍याएको भन्दै राहत, सहयोग र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

प्युठान जिल्लामा चैत्र १६ गतेदेखि २२ गतेसम्ममा हावाहुरीले विभिन्न पालिकामा ९९ ओटा घर, ४६ वटा घर,१० ओटा विद्यालय, ६ ओटा सरकारी तथा गैर सरकारी कार्यालय र १ पानी टङ्की गरेर १६२ संरचनामा क्षति पुराएको छ ।

गृहमन्त्री लामिछानेले आफूले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताएका सांसद थापाले जानकारी दिए । थापाले भने,“ पछिल्लो हावाहुरीले जिल्लामा बढी क्षति गरायो । यसको तत्काल राहत तथा क्षतिपूर्तिका लागि आग्रह गरेका छौँ ।”

सांसद थापासहित झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसी, नेकपा एमाले स्वर्गद्वारी नगर कमिटीका अध्यक्ष रामप्रसाद श्रेष्ठ सचिव भरत राउतले गृहमन्त्री लामिछानेलाई भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस !