१ जेष्ठ २०८१, मंगलबार

रास्वपा संसदीय दलको बैठकमा संसद् अवरोधबारे छलफल, मंगलबारको संसद् बैठक अघि बढ्ने अपेक्षा

प्रकाशित मिति :  7 April, 2024 7:12 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको संसद् अवरोधको बारेमा छलफल भएको छ ।

आइतबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा संसदमा कांग्रेसले सहकारी प्रकरणको विषयमा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै संसद् अवरोध गर्दै आएको बारेमा छलफल भएको हो ।

बैठकको बारेमा जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा प्रमुख प्रतिपक्ष दलले संसदमा आन्दोलन गरिरहँदा संसद् पेचिलो बन्दै गएको बारेमा छलफल भएको बताए । उनले आफू प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवादमा रहेको बताए ।

उनले सभामुख देवराज घिमिरेले सोमबार प्रमुख सचेतक र नेताहरूको बैठक बोलाएको र सोही बैठकबाट मंगलबारको संसद् निर्बाध रूपमा अघि बढ्ने अपेक्षा राखेको बताए । उनले संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले आफ्ना भनाइहरू राखेको र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले अहिलेसम्मको कार्य प्रगतिबारेमा जानकारी गराएको पनि बताए ।

उनले भने,”पार्टीबाट सरकारमा सहभागी मन्त्रीज्युहरुले आफूले आजसम्म गरेका कामहरूको ब्रिफिङ गर्नुभयो । संसद् पेचिलो ठाउँमा गएर अड्किएको छ । संसदमा प्रमुख प्रतिपक्ष दल आन्दोलनमा छ । त्यो विषयमा हिजो पनि संवाद गरेका थियौँ, आज पनि त्यो गाँठोलाई कसरी फुकाउने र संसद्लाई सहज बनाउँदै अघि जाने भन्नेमा छलफल भएको छ । संसद् अवरोधको विषयमा म आफू पनि निरन्तर प्रमुख प्रतिपक्ष र अन्य दलहरुलसँग संवादमा छु ।”

प्रमुख सचेतक परियारले सरकारले गरेका कामलाई सम्प्रेषण गर्ने, संसदमा प्रभवकारी रूपमा प्रस्तुत हुने बारेमा छलफल भएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !