१९ बैशाख २०८१, बुधबार

कृषिकर्जा खेत किन्नेलाई भन्दा खेती गर्नेलाई दिनुपर्छः अध्यक्ष मल्ल

प्रकाशित मिति :  9 April, 2024 2:37 pm


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कृषिकर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

मंगलवार काठमाडौँमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष मल्लले यस्तो माग गरेका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाहरूले कृषि कर्जाका नाममा अहिलेसम्म खेती गर्नेलाई भन्दा पनि खेत किन्नेलाई दिने गरेको भन्दै सरकारले पनि सोहीअनुसार कृषिकर्जा प्रदान गर्नुपर्ने बताए ।

अध्यक्ष मल्लले सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनु पर्नेमा जोड दिए । उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नुपर्ने बताए । उनले सरकारले युवाहरुलाई मुलुकभित्रै रोजगारी दिनेगरी तत्काल रणनीतिक योजना बनाउन आग्रह गरे ।

मल्लले मुलुकको अर्थतन्त्र आयातमुखी भएको बताउँदै कृषिप्रधान देश नेपालले वार्षिक खर्बौं रुपैयाँ भन्दा बढीको खाद्यान्न तथा खाद्य सामाग्रीहरू आयात गरी उपभोग गरिरहेको बताए ।

उनले मुलुकमा भएको प्राकृतिक स्रोत र साधनहरूलाई प्रवद्र्धन, उत्पादन,उपभोग र निर्यात गर्न आवश्यक रहेको उल्लेख गरे । उनले तुलानामत्मक लाभ भएका कृषि,जलस्रोत,पर्यटन र आइटीको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको दाबी गरे ।

उनले आर्थिक गतिविधि विस्तार र निर्यात प्रवद्र्धनका लागि संसदमा विचाराधिन कानूनहरू यथाशिघ्र संशोधन गरी पारित गर्न माग गरे ।



प्रतिक्रिया दिनुहोस !