१२ श्रावण २०८१, शनिबार

उपनिर्वाचन: आजदेखि निर्वाचन आचारसंहिता लागू

प्रकाशित मिति :  10 April, 2024 9:30 am


काठमाडौँ । उपनिर्वाचनको आचारसंहिता आज (बुधबार) देखि लागू हुने भएको छ । निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको जानकारी दिए ।

आचारसंहिता सरकार र सरकारका मन्त्री, प्रदेश सरकार तथा प्रदेश सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, प्रदेश तथा स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, विद्यालय तथा शिक्षक, मतदाता, गैरसरकारी संस्थाका कर्मचारीलगायतलाई लागू हुने आयोगले जनाएको छ ।

आगामी वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुन गइरहेको छ । आयोगले यहाँका विद्यालयहरू भने वैशाख १३ र १४ गते मात्र बन्द गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !