१२ श्रावण २०८१, शनिबार

सफा हिमाल अभियान सुरू, १० टन फोहोर सङ्कलन गर्ने लक्ष्य

प्रकाशित मिति :  11 April, 2024 6:07 pm


काठमाडौँ । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत आजदेखि अभियान सुरू गरेको छ ।

बिहीबार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् ।

बिहीबारदेखि सुरु भएको अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताइएको छ । ब्यानर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधान सेनापति शर्माले हिमाल सफा गर्ने यस अभियानले सफलता पाउने विश्वास व्यक्त गरे । उनले हिमाललाई धार्मिक, सांस्कृतिक एवं मानव सभ्यताको समेत विकास भएको प्रमुख अंगको रूपमा लिने गरिएको बताए ।

उनले जलाधार, जैविक विविधताको संरक्षण, साहसिक पर्यटनको सम्भावनाका कारण हिमालय क्षेत्रको उत्तिकै महत्त्व रहेको बताए । उनले पछिल्लो वर्षहरूमा हिमाल आरोहणमा वृद्धि हुँदै गएको र फोहोरपनि थुप्रिन थालेकाले सरसफाइमा ध्यान पु¥याउनुपरेको बताए ।

उनले नेपाल सरकारको नीति अन्तर्गत नेपाली सेनाले यसको जिम्मेवारी लिएको पनि बताए । कार्यक्रममा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरूबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको बताए ।

उनले नेपाल सरकारको वार्षिक कार्यक्रममा उल्लेख भए बमोजिम हिमालहरूको स्वच्छता कायम गर्ने उद्देश्य अनुरूप सफा हिमाल अभियान २०२४ गरिएको पनि बताए । उनले मानिसका कारण हिमालहरूमा धेरै फोहोर थुप्रिइरहेका कारण सफा गरेर हिमालको स्वच्छता कायम गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !