२० बैशाख २०८१, बिहिबार

नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने

प्रकाशित मिति :  13 April, 2024 7:33 pm


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।

नयाँ वर्षको अवसरमा आज काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका गृहमन्त्री लामिछानेले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढंगबाट समाधान हुने प्रतिवद्धता जनाए ।

उनले कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि उल्लेख गरे ।

गृहमन्त्री लामिछानेले भने,“सबै गुनासाहरू यथोचित ढंगले सम्बोधन हुन्छ, म जानकार छु, यसमा सबै समस्या समाधान हुनेछन् । सेवाअवधि लगायत सबै विषयहरु एकमुष्ट रुपमा सम्बोधन हुन्छ । राष्ट्रसेवकहरुलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस् ।”

उनले काठमाडौं सहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए । काठमाडौं जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको उनको जिकिर थियो ।

गृहमन्त्री लामिछानेले भने,“ यो सहर जिउँदो, जाग्दो सहर क्रियाशिल सहर हो भन्नेकुरा महशुस गराउनुपर्छ । नियम र कानुनहरू कडाईका साथ पालना हुन्छन्, नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन ।”

गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको बताए ।



प्रतिक्रिया दिनुहोस !