२१ बैशाख २०८१, शुक्रबार

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसको निन्दा

प्रकाशित मिति :  14 April, 2024 11:17 am


काठमाडौँ । संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको नेपाली कांग्रेसले निन्दा गरेको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई संसदीय मूल्य मान्यताविरुद्ध काम नगर्न सरकारलाई चेतावनी दिदै संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा गरेको हो ।

दलको बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि सरकारले अप्रत्याशित रूपमा संसद अधिवेशन अन्त्य गर्ने निर्णयको घोर निन्दा गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने,“ संसद्को अधिवेशन अन्त्य गर्ने निर्णयको कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ ।”

लेखकले सरकारको तानाशाही प्रवृत्ति देखाएकाले आफूहरूले २ दिन मात्रै संसद् अवरोध गरेको उल्लेख गर्दै यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

प्रतिपक्षले अवरोध गरेका कारण संसद चल्न नसकेको भन्ने आरोप्रति लेखकले आपत्ति जनाए ।

उनले भने,“प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ ।”

सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको लेखकले आरोप लगाए ।

सरकारले आज राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस !