२० बैशाख २०८१, बिहिबार

संसदको हिउँदे अधिवेशन प्रयाप्त प्रभावकारी भएन : सभामुख घिमिरे

प्रकाशित मिति :  14 April, 2024 1:32 pm


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलले संसदको हिउँदे अधिवेशनमा कानून निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताएका छन् ।

सभामुख घिमिरेले आज प्रतिनिधिसभा बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानून निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुई वटा अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धि पूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गरेका हुन् ।

सभामुख घिमिरेले भने,“कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मक रुपमा अघिल्ला अधिवेशनहरूभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको मैले महशुस गरेको छु । तर पर्याप्त भने हुन सकेन । राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखि हुने मैले विश्वास लिएको छु ।”

उनले राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयको आधारमा आगामी अधिवेशनहरू अझै प्रभावकारी र परिणाममुखि हुने विश्वास समेत व्यक्त गरे ।

संसद जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै सभामुख घिमिरेले त्यसमा हुने बिरोध र बहस पनि स्वाभाविक रुपमा लिनुपर्ने बताए ।

उनले संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पु¥याउने पनि स्मरण गराए ।

सभामुख घिमिरेले भने,“संसद जनताको भावनालाई जनताद्धारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुन्छन् । नेपाली समाज र राजनीतिमा रहेका विविधता, बिरोध र बहस पनि स्वाभाविक रुपमा देखिन्छ । संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भिरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्‍याउछ । ”

संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्‍याउनसके संघीय संसदको गरिमा र समयको उचित सदुपयोग हुन्छ भन्ने आफूले ठानेको सभामुख घिमिरेको भनाई थियो ।

उनले संसद क्रियाशील र प्रवुद्ध भएमात्रै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !