१७ बैशाख २०८१, सोमबार

काँग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैनः महामन्त्री थापा

प्रकाशित मिति :  16 April, 2024 8:40 am


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएका छन्।

सोमवार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काँग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए।

थापाले ०८१ सालमा सरकार बनाउने खेलमा काँग्रेस लाग्नु नहुने तर्क राखे । उनले एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरुलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने धारणा राखे।

उनले सरकारमा नयाँ आएकाहरुले काँग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको चर्चा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए।

थापाले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको ध्यानाकर्षण गराए।

उनले भने, “२०८१ साल एक वर्ष नेपाली काँग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस् । बालुवाटार आयो की आँखा चिम्म गरेर अघि गइहाल्यौँ । महाराजगञ्जतिर गइहाल्ने । हेर्दै नहेर्ने । सिंहदरबारतिर पनि हेर्दै नहेर्ने । एक वर्ष ०८१ माओवादी, एमाले साथीहरु मिलेर सरकार चलाउन दिनुस् । चलाउनुस् ।

महामन्त्री थापाले नागरिकहरुको न्यायको लागि काँग्रेसले आवाज उठाउने उनले बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !