१७ बैशाख २०८१, सोमबार

समिति सभापतिसहितका सांसदहरूले समयको ख्याल नगर्दा स्थगित भयो अन्तर्राष्ट्रिय समितिको बैठक

प्रकाशित मिति :  16 April, 2024 1:52 pm


काठमाडौँ । निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसकेपनि सांसदहरूको लापरवाहीले बैठक बस्ने नसकेको हो । सांसदहरू तोकिएको समय भन्दा १५ मिनेट पछिसम्म पनि पुग्न नसकेपछि बैठक स्थगित गरिएको हो । बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्नेमा ८ जनामात्रै भएपछि मन्त्री श्रेष्ठ समितिको बैठकबाट बाहिरिएका थिए ।

मन्त्री श्रेष्ठपछि मन्त्रालयका सचिव र कर्मचारी पनि बैठक छोडेर बाहिरिएका थिए । समितिका सभापतिसहितका सांसदहरुले समयको ख्याल नगर्दा बैठक स्थगित भएको हो ।

समितिको आजको बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरुको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू) का बारेमा छलफल हुने कार्यक्रम रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !