५ आश्विन २०८१, शनिबार

उद्योगहरूमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुन्छ, समाधान गरियोस्ः अध्यक्ष अग्रवाल

प्रकाशित मिति :  16 April, 2024 6:12 pm


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरूमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले उद्योगीहरू थप मर्माहत भएको बताए ।

उनले एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा १६ घण्टासम्म लोडसेडिङ्ग गराउने काम भइरहेको बताए । उनले सरकारको यो कस्तो नीति हो? भन्दै प्रश्न गरे ।

उनले विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताए ।

उनले महंगो दरमा आयात गरेर भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गरे । उनले समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको बर्ताए ।

अध्यक्ष अग्रवालले मुलुकमा उद्योग व्यवसयालाई प्रोत्साहन नदिँदा देशभित्र रोजगारका अवसर सिर्जना हुन नसकेको बताए । उनले अर्थतन्त्रमा चौतर्फी चुनौति र समस्या रहेको बताए ।

चुनौति र समस्या समाधानका लागि ठूलो शल्यक्रियाको खाँचो भएपनि मल्हमपट्टी गरेर शिथिल अर्थतन्त्र उकास्ने सोच्ने काम भइरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !