१८ बैशाख २०८१, मंगलबार

गण्डकीमा संसद् आह्वानप्रति कांग्रेसको असहमति

प्रकाशित मिति :  17 April, 2024 4:58 pm


काठमाडौँ । गण्डकी प्रदेश सभाको बैठक वैशाख ७ गते बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

बुधबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले एक विज्ञप्तिमार्फत नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति आपत्ति जनाएको हुन् ।

“सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्तिहरू गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र माननीय प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो,” विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्चले चैत २८ गते हालको सरकारलाई मुद्दाको टुंगो नलाग्दासम्म प्रदेश सरकारका नियमित कार्य सञ्चालनबाहेक कुनै पनि दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न भनेर अन्तरिम आदेश जारी गरेको छ ।

गण्डकी प्रदेशमा सभाभुख समेतको संलग्नतामा गत चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । उक्त कदमलाई असंवैधानिक भन्दै कांग्रेस २७ गते सर्वोच्च अदालत गएको थियो ।



प्रतिक्रिया दिनुहोस !