१८ बैशाख २०८१, मंगलबार

सुहाङलाई मत माग्दै ओलीले भने: देश बनाउने युवा हुन्, जिताउनुस्

प्रकाशित मिति :  17 April, 2024 5:53 pm


काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान गरेका छन् ।

बुधवार इलामको मंगलवारे बजारमा आयोजित चुनावी सभामा बोल्दै उनले देश बनाउने संकल्प बोकेर हिँडेका सुहाङ इलामेली जनताको साझा उम्मेदवार भएकाले उसैलाई जिताउनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले देश बनाउने योजना, गन्तव्य र उद्देश्य सुहाङसँग रहेको र त्यसलाई साकार पार्ने एमाले पार्टी भएको जिकिर पनि गरे । सुहाङले इलाम बनाउने अवसरको रूपमा सांसद पदलाई उपयोग गर्न चाहेकाले पनि इलामेली जनताले मतदान गरेर निर्वाचनमा अत्याधिक मतका साथ विजयी गराउनुपर्ने उनकाे भनाइ थियाे ।

उनले भने,”देश बनाउन भन्ने संकल्प बोकेर हिँडेको युवा व्यक्तित्व, एक्लै देश बन्दैन । बिना योजना, विना उद्देश्य, बिना गन्तव्य देश बन्दैन । गन्तव्य बोकेर, उद्देश्य बोकेर हिँडेको युवा भनेर मैले सुहाङ नेम्वाङलाई भने । किनभने गन्तव्य भएको, कहाँ पुग्ने हिँडेको भन्ने थाहा भएको, देश बनाउने संकल्प बोकेको सांसद हुने मात्रै उद्देश्य होइन । सांसद हुने भनेको त काम गर्ने एउटा अवसर हो । माध्यम हो । देश बनाउने उद्देश्य बोकेको युवा उम्मेदवार हुन सुहाङ ।”

अध्यक्ष ओलीले अन्य दलका उम्मेदवारमा देश बनाउने योजना र संकल्प दुवै नभएको दावी समेत गरे ।



प्रतिक्रिया दिनुहोस !