१९ बैशाख २०८१, बुधबार

व्यक्ति नभइ मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु: गृहमन्त्री लामिछाने

प्रकाशित मिति :  18 April, 2024 6:45 pm


काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उनका पुत्र रोहन श्रेष्ठले खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गरेका हुन् । उनीहरूले कुनैपनि राजनीतिक दलहरुको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेको खबरदारी गरे ।

भेटमा बोल्दै रमिलाले अपराधीलाई राजनीतिक संरक्षणमा छोड्न नहुने बताइन् । उनले यसअघि पनि विभिन्न राजनीतिक दलहरुको संरक्षणमा पटक पटक छोडिएको भन्दै उनले अपराधीलाई कारबाही गर्न माग गरिन् ।

उनले भनिन्, ‘अपराधी राजनीतिक संरक्षणमा नछुटोस् । पहिला पनि राजनीतिक संरक्षणका कारण पटक पटक छुटेको रेकर्ड छ । उसलाई कारबाही होस् । मैले श्रीमान नपाए पनि न्याय पाउँ । मलाई न्याय पाउँछु की भन्ने आश लागेको छ । मन हलुका भएको छ ।’

पीडित परिवारको भनाइ सुनिसकेपछि गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभइ सत्यको आधारमा कारबाही गर्ने बताए । उनले काम गर्न जटिलता भएपनि अपराधीलाई उन्मुक्ति नदिने बताए ।

गृहमन्त्री लामिछानेले व्यक्ति जोगाउने नभइ आफू मुलुक, व्यवस्था, जनता र न्याय जोगाउने काममा लागेको बताए ।



प्रतिक्रिया दिनुहोस !