२० बैशाख २०८१, बिहिबार

भारतमा प्रथम चरणको लोकसभा निर्वाचन सुरु, लोकतन्त्रको महाउत्सवमा सहभागी हुन प्रधानमन्त्री मोदीको आव्हान

प्रकाशित मिति :  19 April, 2024 8:24 am


काठमाडौँ। भारतमा आजदेखि लोकसभा चुनावको पहिलो चरणको मतदान सुरु भएको छ । सात चरणमा मतदान हुने निर्वाचत तालिका अनुसार शुक्रवार विभिन्न २१ राज्यका १०२ सिटमा निर्वाचन हुने भएको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावलाई लोकतन्त्रको सबैभन्दा ठुलो पर्व भएकाले मतदानमा सहभागी हुन भारतीय नागरिकलाई आव्हान गरेका छन् । तोकतन्त्रमा हरेक भोटको समान महत्व रहने उल्लेख गर्दै मोदीले भोटिङको नयाँ रेकर्ड कायम गर्न आव्हान गरेका हुन्।

अरूणाञ्चल, असम, बिहार, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कस्मिर, लक्षद्विप, पुद्दुचेरीका विभिन्न १२० सिटमा आज मतदान हुँदैछ।

मतदानका लागि केही राज्यहरूको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ। छत्तीसगढमा माओवादीले चुनाव बहिस्कार गरेको छ। त्यहाँ केहीदिनसम्म प्रहरी र माओवादीबीच मुठभेड भएको थियो।

दोस्रो चरणको मतदान अप्रिल २६, तेस्रो चरणको मे ७ तारिखमा र चौथो चरणमा मे १३ तारिखका दिन मतदान हुने हुने भएको छ । पाँचौ चरणमा निर्वाचन मे २० मा हुनेछ भने छैटौं चरणको मे २५ मा र सातौं चरणको १ जुनमा मतदान हुने जनाइएको छ।

सबै चरणको मतदान सकिएपछि मात्रै मतगणना गरिने भएकाले मतगणना ४ जुनबाट सुरू हुनेछ।

भारतमा ९६.८ करोड मतदाता छन्। तीमध्ये ४७.१ करोड महिला र ४९.७ करोड पुरूष मतदाता रहेका छन्। ८५ वर्षमाथिका व्यक्तिहरूलाई घरबाटै मतदान गर्न मिल्ने व्यवस्था गरिएको छ।

सन् २०१९ मा निर्वाचित लोकसभा सदस्यहरूको पदावधि आगामी जुन १६ देखि सकिँदैछ।

यसपालिको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडिए र कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ।

भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेर लगातार दोस्रो कार्यकाल मोदी प्रधानमन्त्री छन्।

-एजेन्सीकाे सहयाेगमा



प्रतिक्रिया दिनुहोस !