२१ बैशाख २०८१, शुक्रबार

ओलीको निष्कर्ष : राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली काँग्रेसको शक्ति बिस्तार विवेचनायोग्य घटना

प्रकाशित मिति :  20 April, 2024 2:36 pm


ललितपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली काँग्रेसको शक्ति बिस्तारलाई विवेचनायोग्य घटनाको रुपमा चित्रण गरेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेक्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रुपमा र नेपाली काँग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रुपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको बताए ।

उनले भने,“निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन् ।”

उनले संविधानका मूल विषयमा अस्पष्ट र असहमत रहनेहरुको संख्या निर्वाचनपछि प्रतिनिधि सभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष सुनाए ।

ओलीले निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने,“निर्वाचन परिणामले सृजना गरेको प्रतिकुलताको मूल्य आज राष्ट्रले नै चुकाउनु परिरहेको छ । निर्वाचनपछि निर्माण भएकोशक्ति सन्तुलन राष्ट्र र जनताको हितमा अनुकूल बन्न सकेन । मुलुकलाई राजनीतिक स्थिरता आवश्यक थियो । तर प्रतिनिधिसभामा एक दर्जन दलको उपस्थिति र संविधानका मुख्य विषय अस्पष्ट र असहमत रहनेहरुको उल्लेख्य संख्याले राजनीतिक अस्थिरताको सम्भावना झनै बढायो ।”

असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिएको उल्लेख गर्दै अध्यक्ष ओलीले भने,“उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् तर उनीहरुसँग यसको समाधान भने छैन ।”



प्रतिक्रिया दिनुहोस !