२१ बैशाख २०८१, शुक्रबार

सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै पनि काम नगर्न सत्तारुढ दलहरूलाई एमालेको आग्रह

प्रकाशित मिति :  21 April, 2024 6:36 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेको छ ।

आइतबार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सो आग्रह गरेको हो ।

मुलुकलाई थप अस्थिरता र अन्यौलतातर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समिकरणका सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने प्रस्तव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

एमालेले आफनो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) का बिचमा नयाँ सत्तासमिकरण निर्माण गर्ने सम्झदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखि र दिगो बनाउने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

त्यसैगरी ५ दलले जारी गरेको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत आजको मुख्य समस्याहरूलाई समाधान गर्नेगरी तालिकावद्ध रूपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले बताए ।

विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने संकल्प पनि एमालेले गरेको छ ।

बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपमा अझ एकतावद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !