२२ बैशाख २०८१, शनिबार

लेनिन दिवसमा प्रचण्डको प्रस्ताव, ‘क्रान्तिकारी र वामपन्थीबिच ध्रुवीकरणको अभियानमा लामवद्ध होऔँ’

प्रकाशित मिति :  22 April, 2024 8:46 am


काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव भएको बताएका छन् ।

भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु सबैको साझा जिम्मेवारी रहेको बताएका हुन्।

प्रचण्डले भनेका छन्, “सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गर्दछु ।”

हालको बामपन्थी सहकार्यको प्रशंसा गर्दै सम्पूर्ण वामपन्थी शक्तिहरू एवं क्रान्तिकारी जनसमुदायको सकारात्मक योगदान रहनेमा विश्वास व्यक्त गरेका छन् । लेनिन जयन्तीको अवसर पारेर नेपालमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

शुभकामना सन्देशमा भनिएको छ, “विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ । यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ ।”

उनले विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिनको रुपमा आजको दिनलाई चित्रण गरेका छन्।



प्रतिक्रिया दिनुहोस !