२१ बैशाख २०८१, शुक्रबार

हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  22 April, 2024 2:38 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।

सोमवार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरू नरहेको जिकिर गरे । उनले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको बताए ।

अहिले कम्युनिष्ट पार्टीहरूबिच सहकार्यको शुरुवात भएको भन्दै जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर रहेको उनले बताए । उनले जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने दाबी गरे ।

उनले भने,”हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ की, समय भन्दा अगाडि नै दौडिइएछ की भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले । त्यसकारण अहिले हामी सहकार्य शुरु गरेका छौँ, राम्रो सहकार्य गरौँ । यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिउँ ।”

प्रधानमन्त्री दाहालले समृद्धिको जनताको आकांक्षा, सामाजिक न्याय, सुशासनको आकांक्षालाई महशुस हुनेगरी काम गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !