२१ बैशाख २०८१, शुक्रबार

वैदेशिक र आन्तरिक लगानीमा राजनीतिक दलहरुका प्रतिवद्धताहरु समान छन्ः अर्थमन्त्री पुन

प्रकाशित मिति :  23 April, 2024 8:16 am


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको बताएका छन् ।सोमवार काठमाडौंमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको जिकिर गरे । उनले सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भएपनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरुका प्रतिवद्धताहरु समान रहेको बताए ।

उनले लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहने दाबी गरे । उनले प्रतिवद्धताहरु, नीतिका निरन्तरताहरु लगानी सम्मेलनमा देख्न सकिने बताए । उनले सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन नभएको भन्दै लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउने बताए ।

अर्थमन्त्री पुनले लगानीकर्ताहरुले प्रतिवद्धता व्यवहारमा देखाउने कुरा र नीतिको निरन्तरतामा विशेष जोड दिएको बताए । उनले नेपालमा रहेका लगानीकर्ताहरुको मनोबल उच्च भयो भने र उत्साहित भए भने मात्रै अरु लगानी कर्ता आउने भएकाले सरकार त्यसमा लागिरहेको बताए । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !