२४ बैशाख २०८१, सोमबार

भारतले वैशाख ७ गतेदेखि चिया निर्यातमा लगाएकाे अवराेध हट्याे

प्रकाशित मिति :  24 April, 2024 7:07 pm


काठमाडौँ । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।

चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए ।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ वटा नेपाली ट्रक रोक्दा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको जनाएको थियो । गाडी नै पिच्छे गुणस्तर जाँच गर्ने व्यवस्था अव्यवहारिक भन्दै नेपाली पक्षले पुरानै प्रावधानअनुरुप चियाको निर्यात गर्न दिन माग गर्दै आएको थियो ।

नेपाली पक्षले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियमअनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेको गरेको थियो । अन्ततः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियमानुसार चियाको निर्यात खुलाउन सहमत भयो ।



प्रतिक्रिया दिनुहोस !