२४ बैशाख २०८१, सोमबार

संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा

प्रकाशित मिति :  26 April, 2024 5:26 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनमा भएका व्यवस्थाहरूको बारेमा आम जनतालाई बुझाउन नसक्दा संविधान र कानुन कार्यान्वयनमा समस्या आएको बताएकी छिन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाको १४ औँ अधिवेशन तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधान र कानुनमा भएका व्यवस्थाका बारेमा जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या आएको बताएकी हुन् । उनले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संविधानमा लेखिसकेपछि पनि कार्यान्वयन हुन नसकेका बताइन् ।

मन्त्री शर्माले जातीय छुवाछुत, सम्पत्तिमा छोराछोरीको बराबरी हक तथा आमाको नामबाट नागरिकता दिने विषयमा संविधान र कानुनमा स्पष्ट भएपनि कार्यान्वयनमा कठिनाइ भएको बताइन् ।

उनले कानुनमा उल्लेख गरेपनि मानिसहरूको दिल, दिमागमा पुर्याउन नसकिएको भन्दै त्यसमा कमजोरी भएको बताइन् । उनले संविधानमा भएको कुराहरू जनतालाई बुझाउन अभियान चाल्नुपर्ने भएपनि त्यस्तो गर्न नसकिएकोले समस्या उत्पन्न भएको बताइन् । उनले आगामी दिनमा संविधान र कानुनमा भएको व्यवस्था जनतालाई जानकारी गराउनका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री शर्माले ठुलो पदमा बसेका व्यक्तिहरूले गरेको गल्ती कमजोरीलाई व्यवस्थासँग जोडेर दूषित मनसायका साथ दोष दिने गरिएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताइन् । उनले व्यक्तिले गरेको गल्तीमा व्यवस्थाले दोष पाउनु नहुने बताइन् । गल्ती गर्नेहरू जति नै ठुलो पदमा बसेपनि कानुनी दायरामा आउने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !