८ जेष्ठ २०८१, मंगलबार

उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि गर्‍योः विष्णु रिमाल

प्रकाशित मिति :  30 April, 2024 2:32 pm


काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उनले सो प्रतिक्रिया दिएका हुन् । मंगलबार अपरान्ह पार्टी मुख्यालय च्यासलमा न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उपमहासचिव रिमालले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क गरे ।

कोशी प्रदेशको नामाकरण गलत भन्नेहरू, त्यस सन्दर्भमा चपाएर बोल्नेहरू उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामाकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको उनको भनाइ थियो ।

उपमहासचिव रिमालले उपनिर्वाचनको मत परिणाम सहज र उत्साहजनक रुपमा आएको उल्लेख गर्दै एमालेले भन्दै आएको एजेण्डाको आधारमा दलहरुलाई जनताले चुन्न पाउनुपर्छ भन्ने अडान पनि उपनिर्वाचनले सही छ भन्ने सन्देश दिएको जिकिर गरे । उनले उपनिर्वाचनले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको बताए ।

उपमहासचिव रिमालले काँग्रेस र एमालेबिच तत्काल सत्ता सहकार्य हुने सम्भावना नरहेको बताए । रिमालले भने, “तत्कालका लागि काँग्रेससँग सत्ता सहकार्यको सम्भावना छैन । हामी एउटा समिकरणमा छौं, काँग्रेसहरूले पहिला समिकरण बनाए । अहिले यतिखेर चाँही त्यो सम्भावना छैन । अहिले एमाले र काँग्रेसबिच नयाँ समिकरण बन्दै बन्दैन । अहिले एमालेले चाहेर बनाउने भनेको के हो भने शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउने हो । त्यो हामीलाई के जरुरी छ र रु त्यो जरुरी नै छैन नि ।”

उपमहासचिव रिमालले एमाले वर्तमान सत्ता समिकरणलाई पूरै कार्यकाल कामयै राखेर अघि बढ्न लागिपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !