७ जेष्ठ २०८१, सोमबार

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ, प्रहरीद्वारा सार्वजनिक

प्रकाशित मिति :  30 April, 2024 5:08 pm


काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरूमा पठाउने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनी आफ्नो नक्कली नाम बताइ अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाइ सिमकार्ड समेत निकाली ४२२ जनालाई ठगी गर्ने गिरोह पक्राउ परेको बताए ।

उनले पक्राउ पर्नेमा जिल्ला धादिङ, जीवनपुर गाविस हाल धुनिबेँसी नगरपालिका ४ घर भएका आफ्नो नाम जीवा गौतम बताउने रमेश बयलकोटीलाई पक्रा गरिएको बताए ।

उनले बयलकोटीले कीर्तिपुर नगरपालिका ६ बस्ने ललितजंग बमलाई भिजा प्लस प्राइभेट लिमिटेड नामको कम्पनी दर्ता गर्न लगाइ सामाजिक सञ्जालमा वैदेशिक रोजगारीका लागि बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशिया, मकाओ, टर्की लगायतका देशमा जान अवसर रहेको भनी विज्ञापन पोस्ट गरी कन्सलटेन्सीमै बोलाइ करिब ४२२ जनालाई प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताइ सुरूमा ५० हजारदेखि ३ लाख लिने र भिजा आएपछि अन्य रकम दिने भनी कर्मचारी खटाइ रकम लिने गरेको खुलेको बताए ।

उनले पक्राउ पर्नेमा अर्का सञ्चालक कालिकोट छाप्रे ६ घर भएका दर्शन नेपालीलाई कागेश्वरी नगरपालिका ७ बाट पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको बताए ।

यसको मुख्य गिरोहहरू भारतमा बसी काम गर्ने गरेको पनि उनले बताए । ४२२ जनाबाट करिब ३ करोड भन्दा बढी रकम उठाएको बताए । महाराजगञ्जको कन्सलटेन्सीबाट थान २० र दर्शन नेपालको जडिबुटीस्थित कोठाबाट १ र बयलकोटी बस्ने कोठा एकान्तकुनाबाट ६३ गरी ८४ थान राहदानी लगायत १८२ जनाको रेकर्ड फाइल बरामद गरेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !