८ जेष्ठ २०८१, मंगलबार

श्रमिकका समस्या, गुनासो समाधानका लागि श्रमाधान सेवा शुभारम्भ

प्रकाशित मिति :  1 May, 2024 12:53 pm


काठमाडौँ । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरूवात गरेको छ ।

बुधवार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको सुरूवात गरेको हो ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाको सुरूवात गरेका हुन् । उनले श्रमाधान सेवाको सुरुवात गर्दै नेपाली स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा श्रमाधानको सुरूवात गरेको बताए ।

उनले श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वृहत र व्यवहारिक योजना भएको दाबी गरे । उनले श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगार सम्बन्धि बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको जानकारी दिए ।

उनले श्रमाधानमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएको बताए । उनले इन्द्रेणीका सात रङसँग मेल खानेगरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिएको उल्लेख गरे । उनले रोजगार बैंकमा गौरवका आयोजना र नेपाल सरकारसँग रोजगारदाता र श्रमिक जोडिने गरी काम गरिरहेको बताए । उनले श्रमाधानमा सबै नेपालीहरुको श्रमलाई उच्च प्राथमिकता दिँदै समानताको प्रत्याभुति दिने उद्देश्य श्रमाधान समता कार्यक्रम पनि समावेश रहेको बताए ।

सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरिएको छ । समस्यामा परेको श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !