१८ बैशाख २०८१, मंगलबार

स्वास्थ्य क्षेत्र तथा रोजगारी सिर्जना हुने गरि कृषिमा बजेट केन्द्रीत गर्न सांसद जयपुरी घर्तीको सुझाव

प्रकाशित मिति :  11 May, 2020 2:41 pm


काठमाण्डौं, २९ वैशाख ।

प्रतिनीधि सभा सांसद् जयपुरी घर्तीले स्वास्थ्य क्षेत्र तथा रोजगारी सिर्जना हुने गरि कृषिमा बजेट केन्द्रीत गर्न सुझाव दिएकी छन् ।

आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयका सिद्धान्त र प्राथमिकता माथी छलफलमा भाग लिदै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति समेत रहेकी सांसद् घर्तीले कोरोना केन्द्रित स्वास्थ्य सम्बन्धि कार्यक्रम र रोजगारी सिर्जना हुने गरि कृषिमा बजेट केन्द्रित गर्न सरकारलाई सुझाव दिएकी हुन् ।

उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा टिप्पणी गर्दै भनिन्,‘ यसमा थोरै कमजोरी कहाँ देखें भने कोरोना भाइरसलाई केन्द्रित गरेर स्वास्थ्यमा जुन  हुनुपर्ने हो यसमा मैले कमी महसुस गरेँ । यसमा पूर्वाधार निर्माण, जनशक्ति वितरणदेखि लिएर अहिले स्वास्थ्य सामाग्री उपलब्ध गराउने, औषधि उपलब्ध गराउने स्वास्थ्य जनशक्ति जो छ त्यसलाई हामीले ठिक ढंगले वितरण गर्ने कुरामा यहाँ अझै मुख्य प्राथमिकता रहेन कि भन्ने मलाई लागेको छ र स्वास्थ्यमै बढी हामी केन्द्रित गर्ने गर्नुपर्छ ।’

सांसद घर्तीले कोरोनाले विश्वव्यापीदेखि नेपालमा समेत अवस्था जटिल बनेको भन्दै स्वास्थ्य क्षेत्रमा बजेटले प्राथमिकता दिएन भने अगाडी बढ्न गाह्रो हुने उल्लेख गरिन् । उनले भनिन्,‘स्वास्थ्यका लागि हामीले दिर्घकालिन योजना बनाउनुपर्छ भने तात्कालिन रुपमा हामी कोरोना भाइरसबाट हामी कसरी बच्ने त ?’

कृषिलाई पनि उच्च प्राथमिकतामा राख्न सांसद् घर्तीले सरकारलाई सुझाव दिईन् । उनले भनिन्,‘ कृषिमा हामीले प्राथमिकता दिनुपर्छ । अहिलेपनि हामीले थाहा पायौं कि बाहिरबाट अर्बौं रुपैयाँका हिसाबले यो दुई महिनाको बीचमा आयात गर्नुपर्ने स्थिति पैदा भयो र नेपालमा उत्पादन भएका कृषिजन्य बस्तुहरु केन्द्रीत गरेर जनताहरुलाई वितरण गर्न सकेनौं । त्यसकारण कृषिमा हामी बढी केन्द्रीत गर्नुपर्छ ।’

सांसद् घर्तीले कृषि उत्पादन त्यसको भण्डार र बजार व्यवस्थापनलाई सरकारले ठिक ढंगले नलिए कोरोनापछि उत्पन्न हुँने स्थितिलाई थेग्न नसकिने उल्लेख गरिन ।  उनले भनिन्,‘ मेरो आग्रह के छ भने कृषि उत्पादनलाई हामीले नेपालमै जोड दियौं । कृषकले उत्पादन गरेको जति उत्पादित बस्तुहरु छन् त्यसलाई भण्डारको विशेष व्यवस्था गरौं र बजार व्यवस्थापनको सरकारले नै व्यवस्थ ागर्ने गरि एउटा ठोस योजना ल्याउनुपर्छ ।’

उत्पादन बढाउने र रोजगार सिर्जना गर्ने गरेर मात्रै नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको दिशातर्फ लान सकिने उनको भनाई थियो । सांसद् घर्तीले भनिन्,‘हामीले आर्थिक पुर्नउत्थान गर्ने भनेका छौं । उत्पादन बढाएनौं भने हाम्रो बस्ने खाने हुँदैन र भोकभोकै मर्ने स्थिति आउन सक्छ । र रोजगार सिर्जना गरेनौं भनेपनि हाम्रा श्रमिकहरु भोकै मर्ने स्थिति छ ।’

झण्डै ४५ लाख युवाहरु विदेशमा रहेको र कतिपय देशहरुले कोरोनाका कारण मजदुर फिर्ता लैजाउ भनेको स्मरण गराउँदै सांसद घर्तीले यसलाई मध्यनजर गर्दै उत्पादन बढाउने र रोजगार सिर्जना गर्ने गरेर अगाडी बढ्नुपर्छपर्नेमा जोड दिईन् । उनले विगतको कमजोरी सुधारर्दै शिक्षालाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिईन् ।

सांसद घर्तीले कारोनाका कारणले आगामी अर्थिक बर्षलाई गुणात्मक विकासको ढंगले अपेक्षा राख्यो भने त्यो निराशा पैदा हुन सक्ने उल्लेख गरिन् । उनले भनिन्,‘अहिले हामी जहाँ छौं त्यही निरन्तरताको रुपमा सिद्धान्त र प्राथमिकतालाई बुझ्यौं भने मात्रै हामी ठिक ठाँउमा पुग्न   सक्छौं ।’

यद्यपी केही नयाँ र आशा जगाउने कार्यक्रम ल्याउन भने उनले सुझाव दिईन् । सांसद् घर्तीले विगतको कमजोरी सुधार्दै शिक्षालाई स्पष्ट दृष्टिकोणद्धारा अगाडि बढाउने गरि प्राथमिकता दिन पनि सरकारलाई सुझाव दिईन् ।



प्रतिक्रिया दिनुहोस !