१६ असार २०८३, मंगलबार

श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालनमा

प्रकाशित मिति :  2 May, 2024 12:03 pm


काठमाडौँ । सन सेक्युरिटिजले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

सो खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी सहजीकरण गर्ने कम्पनीको विश्वास छ ।

यस सेवाको मद्दतबाट विदेशमा रहेर आफ्नो पेशाबाट रकम जम्मा गरी नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस भनेर सन सेक्युरिटिजले यो सेवाको शुरुवात गरेको जनाएको छ ।

सनको “मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता” को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीहरुका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीहरुले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ ।

रेमिट डिम्याट खाताको माध्यमबाट परदेशमा रहेर नेपालको पूँजी बजारमा उचित ढंगबाट लगानी गर्न सके विदेशमा बस्दा कमाएको स–सानो बचतबाट भविष्यमा आर्थिक आत्मानिर्भरता र आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास रहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !