५ जेष्ठ २०८१, शनिबार

सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति भारतको असन्तुष्टि

प्रकाशित मिति :  5 May, 2024 10:15 am


काठमाडौँ । नेपाल सरकारको सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयप्रति भारतीय विदेशमन्त्री एस जयशंकरले प्रतिक्रिया जनाएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताउदै असन्तुष्टि जनाएका छन् ।

शनिबार भुवनेश्वरी पुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको निर्णयले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया दिएका छन् । विदेशमन्त्री जयशंकरले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’

बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले नेपालको संविधान अनुसूची संशोधनमार्फत नेपाली नक्सामा समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको चुच्चे नक्सालाई सय रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो।

२०२६ सालसम्म नेपालको उपस्थित रहेको कालापानी क्षेत्रलाइ २०७२ सालमा जारी भएको संविधानमा उक्त क्षेत्र नसमेटिएपछि त्रुटि भएको भन्र्दै २०७७ साल जेठ ७ गते संविधान संशोधन गर्दै नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ राजनीतिक नक्सा जारी प्रकाशित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !