५ जेष्ठ २०८१, शनिबार

उपप्रधानमन्त्री श्रेष्ठ र जापानकी विदेशमन्त्री कामिकावाबिच भेटवार्ता

प्रकाशित मिति :  5 May, 2024 5:01 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबिच भेटवार्ता भएको छ । नेपालको एक दिने सद्भावना भ्रमणका लागि आएकी जापानकी विदेशमन्त्री कामिकावाले आइतवार अपरान्ह सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेकी हुन् ।

दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए । “हाम्रा बिचका आर्थिक सहयोगात्मक सम्बन्धहरुलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा पनि आपसी छलफल भएको छ,” उनले भने, “हामीले जापानलाई पुरानो असल मित्रको रुपमा र हाम्रो अत्यन्तै ठूलो विकास साझेदारको रुपमा लिएका छौं । त्यसकारणले हाम्रो सम्बन्धलाई दुई पक्षीय सम्बन्धलाई र यसको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ गरेर बिस्तार गर्ने बारेमा सबै पक्षहरुमा अहिले छलफल भएको छ ।”

जापानकी विदेशमन्त्री कामिकावा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको एक दिन भ्रमणका क्रममा नेपाल आएकी हुन् । उनी राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आजै स्वदेश फर्कने छिन् । त्यसअघि उनले आफ्नो सम्मानमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आयोजना गरेको रात्री भोजमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !