५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री विदेशीको दबाबमा सत्ता समिकरण परिवर्तन गर्दै हिँड्छन्ः अध्यक्ष लिङदेन

प्रकाशित मिति :  5 May, 2024 5:09 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरूको दवावमा सत्ता समिकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।

पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतवार काठमाडौँमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले यस्ताे बताएका हुन् । अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर पनि गरे ।सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरूले गरिरहेको उनको भनाई थियो ।

अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे । उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष लिङदेनले आफूहरूले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !