५ जेष्ठ २०८१, शनिबार

कवि तथा गीतकार क्षेत्रीको गीत ‘चोटहरू हिर्काउछन्’ र ‘कहाँ छ स्वर्ग’को श्रव्यदृश्य सार्वजनिक

प्रकाशित मिति :  5 May, 2024 7:26 pm


काठमाडौँ । कवि तथा गीतकार पुरण क्षेत्रीको गीत ‘चोटहरू हिर्काउछन्’ र ‘कहाँ छ स्वर्ग’को श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नक्साल काठमाडौँमा गीतको श्रव्यदृश्य सार्वजनिक गरिएको हो ।

प्रतिष्ठानका कुलपति निशा शर्मा र उपकु्लपति शम्भु राई, वरिष्ठ गीतकार तथा कवि दिनेश अधिकारी लगायत सर्जकको उपस्थितिमा गीत सार्वजनिक गरिएको थियो ।

गीतकार क्षेत्रीको शब्द रहेको गीतमा सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ । ‘कहाँ छ स्वर्ग’ गीतमा रामकृष्ण ढकाल र कुश्मा महरा ‘प्रगति’ को स्वर रहेको छ भने चोटहरू हिर्काउँछन् मा महराको एकल स्वर रहेको छ ।

कार्यक्रममा गीतकार क्षेत्रले आफूले आफ्नो भावनालाई गीतमा उतारेको बताए । उनले भने,“ म गीतकार त होइन तर मनमा लागेका भावनालाई उतार्ने प्रयास गरेको हुँ । सन्तोष जीले सङ्गीत भरिदिएर यसलाई जीवन्त बनाइदिनुभएको छ ।”

गायिका महराले आफूले गीतलाई सक्दो न्याय दिने प्रयास गरेको बताइन् । प्रतिष्ठानको सदस्य समिति समेत रहेकी महराले भनिन्,“मैले गीतलाई जति न्याय दिनुपर्ने हो, नसकेको होकि जस्तो लाग्छ तर मेरो तर्फ सक्दो प्रयास गरेको छु ।”

संगीतकार श्रेष्ठले क्षेत्रीले शब्दहरूमा नयाँ पन दिने प्रयास गरेको बताए । उनले भने,“हाम्रो परम्परागत शैलीभन्दा पुरण जीको शब्दमा नयाँपन छ । सबै गीतहरू पुरानै सिद्धान्त र शैलीमा हुनुपर्छ भन्ने छैन ।”

वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले गीतकार क्षेत्रीले शब्दमा जोखिम लिएको उल्लेख गरे । उनले भने,“नयाँपन दिन खोज्दा जोखिम पनि हुन्छ र नयाँपन पनि । गीत परम्परागत भन्दा नयाँपन बढी छ ।”

रोल्पा नगरपालिकाका पूर्व मेयर समेत रहेका क्षेत्रीले आफूले कला र साहित्यलाई निरन्तरता दिने प्रयास स्वरुप गीत सार्वजनिक गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !