६ जेष्ठ २०८१, आइतबार

एकीकृत समाजवादी संसदीय दलको बैठकः पार्टी एकढिक्का रहेको निष्कर्ष

प्रकाशित मिति :  6 May, 2024 6:52 pm


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो पार्टी एकतावद्ध रहेको बताएको छ ।

सोमवार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै पार्टी एकढिक्का रहेको निष्कर्ष निकालेको हो ।

आइतवार उपेन्द्र यादव नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुनसक्ने भनेर टिकाटिप्पणी शुरु हुन थालेको थियो । सोही विषयलाई प्रष्ट्याउँदै एकीकृत समाजवादीले पार्टीलाई अझ बलियो र सशक्त बनाउने दृढता पनि व्यक्त गरेको छ ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले बजेट अधिवेशनमा सशक्त ढंगले भुमिका खेल्ने र संसदीय दललाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए ।

उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने निर्णय भएको पनि जानकारी दिए । त्यस्तै, उनले पार्टीका बारेमा हल्ला चलाइएको भन्दै आफूहरूको पार्टी एकढिक्का भएको बताए ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य डा.वेदुराम भुसालले अनावश्यक रुपमा बाहिर हल्ला चलाइएको बताए । उनले आफूहरुको पार्टीभित्र कुनै समस्या नभएको बताए । उनले एकीकृत समाजवादीसहितका दलहरूले अर्को समिकरण बनाउँदैछन् भनेर गलत हल्ला चलाइएको पनि बताए ।

उनले भने, “हामी १८ जना उपस्थित भयौँ । छलफल ग¥यौँ । त्यस्तो हाम्रोभित्र केही पनि छैन । यो अनावश्यक हल्ला हो । बाहिर अनावश्यक रुपले हल्ला चलाएका छन् । क–कसले चलाएका हुन् थाहा छैन । कुनैपनि अर्थ छैन यस्ता भेटघाट, सरसल्लाह बाहिर आएका प्रचारको कुनैपनि अर्थ छैन । जे खालको अर्को समिकरण गर्दैछन् भन्ने हल्ला चलाइएको छ त्यो नै गलत हो । कुनै केही पनि भएको छैन । त्यस्तो केही भएको छैन ।”

उनले राजनीतिक दल विभाजनले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने बताए ।



प्रतिक्रिया दिनुहोस !