६ जेष्ठ २०८१, आइतबार

असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई

प्रकाशित मिति :  7 May, 2024 7:36 am


काठमाडौँ। नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताएका छन्।

निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सोमवार अपरान्ह सिंहदरवार पुगेका राईले न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिएका हुन्।

राईले पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जाने आफूहरु निष्कर्षमा पुगेको बताए।

उनले सत्ता राजनीतिका कारण आफूहरुले पार्टी विभाजन नगरेको जिकिर गर्दै सांसदहरुले संसदीय दल विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग कुनै न कुनै रुपमा जोडिन जाने भएपनि सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको उनको भनाइ छ।

अध्यक्ष राईले आफ्नो पार्टीले अब संसदमा रचनात्मक क्रियाकलाप गर्दै अघि बढ्ने जनाए। उनले सत्ता गठबन्धन फेरबदल गर्ने कुराबारे आफूहरु बेखबर रहेको पनि बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !