१२ श्रावण २०८१, शनिबार

रुपन्देहीका संक्रमित भारतबाट लुकेर नेपाल प्रवेश गरेका थिए

प्रकाशित मिति :  12 May, 2020 9:01 am


रुपन्देही, ३० वैशाख ।

रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी भारतबाट नेपाल प्रवेश गरेको पाइएको छ ।

जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले जानकारी दिए ।

भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नं १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट यही वैशाख २५ गते नेपाल फर्किएका थिए । उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पु¥याएका थिए ।

यसैगरी सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना वैशाख २६ गते मुम्बईबाट आएका हुन् । क्वारेन्टाइनमा रहेका ४५, ३० र २६ वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन् ।

सोही क्वारेन्टाइनमा रहेकी आफ्नी आमालाई चार दिन पहिले समरीमाई—१ का वडाध्यक्ष शिवकुमार यादवले जबर्जस्ती घरमा लगेकोमा स्थानीयवासी, सञ्चारमाध्यम र प्रशासनको दवाबपछि पुनः क्वारेन्टाइन फिर्ता गराईएको थियो ।

मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो । उनको बुटवल स्थत कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ मध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए ।

यस्तै बर्दियामा संक्रमित बालिकासँगै बसेका सबैको परीक्षण हुने भएको छ । राजापुर नगरपालिका ५ मा भेटिएकी पहिलो संक्रमित बालिकासँगै क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने भएको हो।

संक्रमित बालिकालाई बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेशनमा राख्न पठाउने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताए । राजापुर, जयपुरस्थित किसान माविको क्वारेन्टाइनमा संक्रमित बालिकासँगै बसेका ३५ जना सबैको कोरोना परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोेकल पर्सन नरेशबावु श्रेष्ठले जानकारी दिए ।

यही वैशाख १६ गतेदेखि क्वारेन्टाइनमा बसेकी बालिका कैलालीको धनगढी उपमहानगरपालिका, मझगाउँस्थित मामाघर र चैत ५ गते भजनीस्थित फुपूको घरमा दुई दिन बसेर पुनः मामाघर हुँदै वैशाख १६ गते राजापुर फर्केकी थिइन् ।

छिमेकी नगरपालिकामा संक्रमण पुष्टि भएसँगै सम्भावित संक्रमण रोकथाम र नियन्त्रण गर्न आजदेखि गेरुवा गाउँपालिकाले सम्पूर्ण नाका पूर्ण रुपमा बन्द गरेको अध्यक्ष जमानसिंह केसीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !