६ जेष्ठ २०८१, आइतबार

कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

प्रकाशित मिति :  8 May, 2024 11:54 am


काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्व–बजेट तयारी तिब्र पारेको छ । पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो ।

कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सचिवालयमा मंगलवार प्रदेश सरकारका प्रमुख सचिव तथा अन्य मन्त्रालय र आयोगका सचिवहरूसँग पूर्व–बजेटको तयारीबारे छलफल गरेको हो । कोशीमा चालु आर्थिक वर्षको लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८० जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोडको बजेट सार्वजनिक गरेका थिए ।

उक्त बजेट अध्यादेश संसदमा टेबल भएर पनि पारित हुन नसकेपछि २०८० भदौको दोस्रो हप्तादेखि बजेट होलिडे शुरु भएको थियो । १२ दिनसम्मको बजेट होलिडेपछि पुनः भदौ २३ गते दोस्रोपटक संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका कार्कीले अर्को अध्यादेशबाट बजेट ल्याएका थिए ।

सो बजेटलाई प्रतिस्थापन गर्दै केदार कार्की नेतृत्वको सरकारले प्रदेश सभामा पेस गरेको प्रतिस्थापन विधेयक, २०८० मंसिर १३ गते पारित भएको थियो । कोशी प्रदेशको राजनीतिक चलखेलका कारण यस वर्ष उही अवस्था हुँदैन भन्न नसकिने स्थिति छ । अब आगामी आर्थिक वर्षका लागि २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०\०८१ का लागि पहिलो चौमासिक सकिएपछि कोशी प्रदेश सरकारले ३६ अर्ब ७४ करोड बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । तर आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा केही सानो हुने प्रदेश सरकारका सचिवहरूको धारणा छ । आन्तरिक आय र संघीय सरकारबाट प्राप्त हुने अनुदानमा आएको गिरावटका कारण आगामी आर्थिक वर्षको बजेटको आकार घटाउने तयारी भइरहेको छ ।

बजेट निमार्णका लागि मन्त्रालयहरूलाई पनि सोहीअनुसारको सिलिङ उपलब्ध गराइएको छ । प्रदेशको राजश्व संकलन बढाउन भने आगामी आर्थिक वर्षदेखि नीतिगत व्यवस्था बमोजिम आवश्यक कामकारबाही अघि बढाउने गृहकार्य भइरहेको सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालले बताए ।

आगामी आर्थिक वर्षका लागि भने पूर्वाधार विकासका क्षेत्रमा प्रदेशको प्रगति देखिने गरी बजेट निमार्ण भइरहेको बताइएको छ । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !