७ जेष्ठ २०८१, सोमबार

राप्ती गाउँपालिकामा सामुहिक प्राङ्गारिक मल उत्पादन सुरु

प्रकाशित मिति :  9 May, 2024 8:19 am


दाङ । दाङको राप्ती गाउँपालिका वडा नं ६ पत्थरगढवामा सामुहिक प्राङ्गारिक मल उत्पादन सुरु भएको छ। वडाले हालै श्रमिक सहकारी संस्था लिमिटेड स्थापना गरि सो मल उत्पादनको काम अघि बढाइएको हो।

मल उत्पादन गर्नका लागि वडाले आर्थिक वर्ष २०८०\८१ मा दश लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकम बाट मल बनाउने मेसिन खरिद तथा सहकारी संस्थाका सदस्यहरुलाई तालिम प्रदान गरिएको राप्ती गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष दिपक कुमार चौधरीले जानकारी दिए ।

प्राङ्गारिक मल उत्पादनले अन्न बालीमा रासायनिक मलको प्रयोगमा कमी ल्याउनुका साथै स्थानीय श्रमिकहरुलाई रोजगारीमा समेत जोड्न सकिने अध्यक्ष चौधरीको विश्वास रहेको छ।

गाई भैंसीको गोठे मल बाट प्राङ्गारिक मल बनाई लेबलिङ र प्याकेजिङको काम समेत भई सकेको सहकारी संस्थाका अध्यक्ष गणेश चौधरीले जानकारी दिए। उनका अनुसार मलको प्रति केजी ७५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ। एक कठ्ठा जग्गामा करिब २० केजी मल आवश्यक पर्ने र त्यसबाट उत्पादनमा समेत वृद्धि हुने चौधरीको भनाइ छ।

अहिले मल उत्पादनको सुरुवाती चरण भएकाले बिस्तारै त्यसको गुणस्तरीयतामा सुधार गर्दै जाने संस्थाले बताएको छ। संस्थामा १८ जना श्रमिक सदस्यहरु आवद्ध रहेका छन्।उनीहरू आफैं मल उत्पादन कार्यमा सहभागी हुने गरेका छन्। यसैबीच बुधबार वडाले श्रमिक सहकारी संस्था उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

राप्ती गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष दिपक कुमार चौधरीको अध्यक्षता एवम् पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम बोल्दै प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी प्राङ्गारिक मल उत्पादनले राज्यको अरबौ रुपैयाँ रकम बचत हुने बताए ।

वर्षेनी विदेशबाट रासायनिक मल आयात गर्दा राज्यको अरबौ रुपैयाँ बाहिरी रहेको बतादै प्रतिनिधिसभा सदस्य चौधरीले त्यसलाई रोक्न र अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न प्राङ्गारिक मल उत्पादनको आवश्यकता रहेको बताए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय रासायनिक मलको बढ्दो प्रयोग भई रहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसबाट उत्पादित बस्तुहरु सेवन गर्दा विभिन्न किसिम नसर्ने रोगहरु लाग्ने बताए ।

उनले प्राङ्गारिक मलको प्रयोगले माटोको उत्पादकत्व वृद्धि मात्रै नभई त्यसबाट उत्पादित बस्तु सेवन गर्दा मानव जीवनमा फाइदा समेत पुग्ने बताए । कार्यक्रममा राप्ती गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चौधरी,वडा नं.७ का वडा अध्यक्ष सिताराम चौधरी, वडा नं.६ का वडा सदस्य बलिराम चौधरी,गीता चौधरी,सावित्री परियार,राष्ट्रिय युवा परिषद्का सदस्य तथा मल उत्पादन कार्यका सहजकर्ता सन्दिप सापकोटा,विभिन्न टोल विकास संस्थाका अध्यक्ष लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !