७ जेष्ठ २०८१, सोमबार

पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्: राष्ट्रपति

प्रकाशित मिति :  9 May, 2024 3:35 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपाल चार्टड एकाउन्टेन्ट सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

उनले लेखा व्यवसायीहरूको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको बताए ।

उनले कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता नै रहेको बताए । राष्ट्रपति पौडेलले देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ ।

विकास निर्माणको ठुला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुने बताए । उनले कुनै पनि क्षेत्रमा हुनसक्ने सानादेखि ठुला आर्थिक चुहावट तथा हिनामिना हुनबाट रोक्न यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

उनले सहीलाई सही र गलतलाई गलत भनी स्पष्ट हिसाब हुन नसक्ने हो भने सानादेखि ठुला आर्थिक कारोबारमा भएका गलत गतिविधि नियन्त्रण गर्ने विषय सहज नहुने बताए ।

पौडेलले हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको र आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय भएकाले न्यायोचित ढङ्गबाट कर्म सम्पादन गरिरहेका लेखा परीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार भएको बताए ।



प्रतिक्रिया दिनुहोस !