७ जेष्ठ २०८१, सोमबार

मधेस प्रदेशमा पनि हाम्रै पक्षका सांसदको बहुमत हुन्छः महासचिव राई

प्रकाशित मिति :  9 May, 2024 3:42 pm


काठमाडौँ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरू बढी हुने दाबी गरेको छ ।

बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको छ । सञ्चारकर्मीहरूकाे जिज्ञासाको जवाफ दिँदै पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले केन्दमा झैँ मधेस प्रदेश सरकारमा पनि आफूहरूकै नेतृत्वका सांसदहरूको बहुमत हुने दाबी गरे ।

उनले केन्द्र सरकारमा पनि ५० प्रतिशत भन्दा बढी आफ्नो पार्टीमा रहेको र मधेस प्रदेशमा पनि सो भन्दा बढी सांसदहरु आफूहरु पक्षको हुने बताए । उनले मधेस प्रदेशमा जसपा, नेपालमा रहेका १९ जना सांसदहरु रहेको र २१ दिनभित्र कसको पक्षमा बहुमत पुग्छ भन्नेकुरा स्पष्ट हुने बताए ।

महासचिव राईले जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी कमिटीहरूमा निर्णय भएको भन्दा फरक किसिमले व्यवहार गर्ने, अन्य पदाधिकारीको सहअस्तित्व स्वीकार नगर्ने प्रवृत्तिले गर्दा नयाँ पार्टी गठन गर्नुपरेको बताए ।

उनले संघीय संरचना भएको मुलुकमा यस किसिमले पार्टी सञ्चालन गर्दा अन्ततो गत्वा पार्टी नै ध्वस्त हुने अवस्था र निश्चित क्षेत्रमा पार्टी पुग्ने अवस्था पार्टीको नेतृत्वबाट देखिएकाले पहिचानसहितको संघीयता, सत्तामुलक समृद्धि र अग्रगामी परिवर्तनका पक्षमा रहेका नेताहरुले चक्रव्युहबाट मुक्ति लिन आवश्यक भएकाले छुट्टै जनता समाजवादी पार्टी नामक राजनीतिक दल गठन गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !