७ जेष्ठ २०८१, सोमबार

सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणीः ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’

प्रकाशित मिति :  9 May, 2024 4:52 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म यही सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन् ।

बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकार छोड्ने र रहने बारेमा सञ्चारकर्मीहरूले गरेको प्रश्नको जवाफमा छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने प्रतिक्रिया दिए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू आज प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट गर्नका लागि पुगेका थिए।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा प्रधानमन्त्री दाहालले बजेट निर्माणमा सांसदहरूलाई सहभागी गराउने प्रतिवद्धता जनाएका थिए तर आगामी आर्थिक वर्षको बजेट आउन लागिसकेपनि त्यसमा चासो नदिएकाले प्रधानमन्त्रीलाई स्मरण गराउन आफूहरु सिंहदरबार आएको उपाध्यक्ष पाण्डेले बताए ।

तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट पशे गर्दा बजेट निर्माणमा सांसदहरूलाई छलफल नगराइएको भन्दै बिरोध जनाएको थियो । बिरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षमा सांसदहरूलाई समावेश गरेर बजेट निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट पेश गर्ने दिन आइसक्दासमेत सांसदहरूलाई बेलाएर छलफल नगराइएको भन्दै नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको हो ।



प्रतिक्रिया दिनुहोस !