७ जेष्ठ २०८१, सोमबार

समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व आउँदैनः नेता निधि

प्रकाशित मिति :  10 May, 2024 11:57 am


काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व नआउने बताएका छन् ।

बिहीबार काठमाडौँमा नेपाली कांग्रेसका नेता स्व.प्रदीप गिरीको स्मृतिसभामा आयोजित कार्यक्रममा उनले दुई पार्टी सिस्टम र निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर राजनीतिक स्थायित्व आउँछ भन्ने कुरासँग आफू सहमत नरहेको बताए ।

उनले संविधानमा संघीय, प्रदेश र स्थानीय तह एक अर्कासँग जोडिदिएकाले त्यसमा संशोधन गरेर एक अर्कासँग नजोड्ने गरी अघि बढ्न जरुरी रहेको बताए । उनले सातवटै प्रदेशलाई प्रहरी संगठन दिनुपर्ने र कर्मचारी संगठन दिनुपर्ने आवश्यकता रहेको पनि बताए ।

निर्वाचन प्रणालीमा संघको पहिला निर्वाचन गर्नुपर्ने त्यसपछि क्रमशः प्रदेश र स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए । उनले यसले राजनीतिक स्थिरता दिने पनि उल्लेख गरे ।

नेता निधिले संघीय प्रणालीमा गइसकेपछि सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने, कर्मचारी संगठन हुनुपर्ने बताए । उनले अहिलेसम्म नेपालमा संघीयता पूर्ण रूपमा बन्न नै नसकेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !