७ जेष्ठ २०८१, सोमबार

पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइनः पर्यटनमन्त्री तामाङ

प्रकाशित मिति :  10 May, 2024 12:39 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन् ।

शुक्रवार पशुपति क्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रूपमा हेर्न नहुने बताएका हुन् ।

उनले विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताउँदै पछिल्लो समय कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएपनि अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।

उनले गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गरे । उनले पशुपति क्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिवद्धता जनाए । उनले पशुपति क्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताए ।

पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाइ छ ।

मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवद्र्धन गर्नसके धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने बताए । उनले भने,”नेपालको विकास समृद्धि राजनीतिक नेतृत्व गैर राजनीतिक ठाउँमा आएर राजनीतिक गर्नाले हुन सकेन । पशुपति क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो । धार्मिक स्थल हो । धार्मिक उदेश्य प्राप्तिको निम्ति काम गर्ने हो । तर पशुपति क्षेत्र विकास कोषमा राजनीतिक बढी गर्नथाल्यौँ भने हाम्रो देश नबिग्रे अरू कुन देश र मानिसहरू बिग्रछन् । त्यसबाट बच्नुपर्छ भन्ने कुरामा आफू सचेत छु ।”

उनले करोडौं जनसंख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मालम्वीहरूलाई सहज रूपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !