७ जेष्ठ २०८१, सोमबार

सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ

प्रकाशित मिति :  10 May, 2024 4:48 pm


काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय बिरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिनुभएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रश्न गरे ।

उनले यस विषयमा राष्ट्रपति पोडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गरेका छन् । संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई उनले निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले सल्लाहकार नेपालले राष्ट्रिय हित विपरित बोलेकाे आरोप समेत लगाए । राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै उनले आपत्ति जनाएका छन् । उनले हरेक नेपालको नोटमा र हरेक सिक्कामा अनिवार्य नेपालको नक्शा राख्नुपर्ने बताए ।

नेपालको अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाएर बस्न नमिल्ने बताएका छन् । नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्ने कुरालाई कुनैपनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको उनकाे भनाइ छ। 

अध्यक्ष ओलीले नेकपा एमालेले गम्भीर रुपमा यसबारेमा छिनोफानो खोज्ने पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !