प्रधानमन्त्रीको प्रस्ताव नमानेपछि लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली
काठमाडाैँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताए ।
पार्टीको काठमाडाैँ महानगरपालिका कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गरे । उनले आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो ? भनि प्रश्न समेत गरे ।
उनले काँग्रेसले सत्ता स्वार्थको लागि उपप्रधानमन्त्री लामिछानेले सहकारीमा ठगी गरेको भन्दै हिँडेको पनि बताए । काँग्रेसले उपप्रधानमन्त्रीमाथि सहकारी ठगीको आरोप लगाएपनि त्यसको खण्डन गर्नका लागि संसदमा बोल्न नदिएको ओलीको भनाई थियो । उनले नेपाली काँग्रेस लोकतान्त्रिक शक्ति नभएको भन्दै उसले सत्ता स्वार्थको लागि जे पनि गर्न थालेको टिप्पणी गरे ।
अध्यक्ष ओलीले काँग्रेसले जथाभावी गर्न थालेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि एमाले मुलुकको निर्णायक राष्ट्रिय शक्ति बन्नुको विकल्प नभएको बताए ।








