१२ श्रावण २०८१, शनिबार

सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने

प्रकाशित मिति :  14 May, 2024 5:25 pm


काठमाडाैँ । सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।मंगलवार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले उच्च हिमश्रृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गरिने बताए ।

उनले जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय कोषको अधिकतम उपयोग गर्न र यस्तो कोषमाथिको अधिकार स्थापित गर्न विशेष प्रयत्न गर्ने बताए । उनले जलवायु वित्तमा सहज पहुँच र निःशर्त प्राप्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा सघन पैरवी गर्ने, जलवायु परिवर्तनको कारण पुगेको क्षतिबापत हानी तथा नोक्शानी कोषबाट आर्थिक सहायता प्राप्त गर्न कुटनीतिक पहल गर्ने बताए ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्युनिकरण र अनुकुलन तथा विपद् जोखिम न्युनिकरणका राष्ट्रिय नीति तथा कार्ययोजना कार्यान्वयन गरिने बताए ।

जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा परेको प्रभावसम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नेपालको नेतृत्वदायी भुमिका स्थापित गरिनेछ ।

जलवायु सङ्कटबाट अल्पविकसित तथा हिमाली मुलुकमा उत्पन्न जोखिमबारे विश्वको ध्यानाकर्षण गर्न, संवेदनशीलता जगाउन, सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माण गर्न र जलवायु वित्तको नतिजामुखी परिचालन गर्न “जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य” विषयमा अन्तर्राष्ट्रिय संवाद आयोजना गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !