१२ श्रावण २०८१, शनिबार

सत्ता पक्षका नेताहरुको दाबीः सरकारको नीति तथा कार्यक्रम उत्साहप्रद

प्रकाशित मिति :  15 May, 2024 6:59 am


काठमाडौँ। सत्तारुढ दलका नेताहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्साहप्रद भएको टिप्पणी गरेका छन ।

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरे, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहालको केही गरौं भन्ने हुटहुटी सम्बोधन हुनेगरी सरकारको नीति तथा कार्यक्रम आएको दाबी गरेका छन्।

एमालेका सांसद गैरेले समाजवादमा जाने संविधानको परिकल्पना अनुसार सो नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए।

उनले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भएपछि सञ्चारकर्मीमाझ नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए।

गैरेले भने, “सरकारले केही परिणाममुखि काम गरौं भन्ने हुटहुटी भएको देखियो नीति, कार्यक्रममा । एउटा यसले हाम्रो संविधानले परिकल्पना गरेको समाजवाद हासिल गर्ने लक्ष्यलाई बोकेर त्यसको आधार तयार गर्नका लागि आर्थिक–सामाजिक रुपान्तरणको क्षेत्रमा हाम्रो देशमा विद्यमान रहेका सम्पूर्ण मन्त्रालयगत हिसावले, त्यसको मन्त्रालयको महत्व र आजको देशका आवश्यक्ता बमोजिमको कार्यक्रमहरुलाई समेटेर प्रश्तुत गरेको छ ।”

जनता समाजवादी पार्टीका अध्यक्ष राईले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीको केही गरौं भन्ने हुट्हुटी नीति तथा कार्यक्रममा समावेश गरिएको पनि बताए।

राईले भने, “परम्परा निर्वाह गर्ने हिसावले यसलाई ल्याउनै पर्ने हुन्छ । तर यो नीति, कार्यक्रममा प्रधानमन्त्रीज्युको केही गर्नुपर्छ भन्ने हुटहुटीलाई यसले बोकेको छ । यो राम्रो छ ।”

अध्यक्ष राईले सरकारको नीति तथा कार्यक्रमले परम्परा पनि धान्नुपर्ने भएकोले यसलाई अन्यथा लिन नहुने तर्क गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !