१२ श्रावण २०८१, शनिबार

पानी परेपछि मोरङका किसान खुशी

प्रकाशित मिति :  15 May, 2024 4:17 pm


काठमाडौँ । सुख्खा मौसमबाट चिन्तित बनेका मोरङका किसानले पानी परेपछि राहत महशुस गरेका छन् ।

वायुमण्डलीय तापक्रम वृद्धिसँगै मौसममा आएको परिवर्तनका कारण तरकारी बाली सखाप हुने चिन्तामा रहेका किसान पानी पर्न थालेपछि चिन्तामुक्त बनेका हुन् ।

कोशी प्रदेशका विभिन्न ठाउँमा केही दिन यता भएको वर्षाका कारण तरकारी बाली जोगिने भएपछि किसानहरूले राहत महशुस गरेका छन् ।

वैशाख महिनाको शुरुवातसँगै देशभरको तापमान उच्च बनेर खडेरीको अवस्था सामना गर्नुपर्दा तरकारी किसान चिन्तित थिए । अस्वभाविक तापमान वृद्धिका कारण तरकारी बाली प्रभावित हुने देखिएपछि हरेस खाइसकेका किसान प्रि–मनसुनको वर्षा सुरू भएपछि हर्षित बनेका हुन् । कृषकहरुले पानी नपर्दा धेरै चिन्ता लागेपनि अहिले पानी परेपछि केही राहत मिलेको बताए ।

मोरङमा किसानहरूले वार्षिक एक लाख ५२ हजार मेट्रिक टनको हाराहारीमा ५६ प्रकारका तरकारी उत्पादन गर्दछन् । जसमा काँक्रा, लौका, पर्वल, गोलभेडा, बोडी र खुर्सानी लगायत आठदेखि नौ प्रकारका तरकारी उत्पादन यही सिजनमा हुन्छ । तर पछिल्लो समय वर्षा नभएर खडेरी लागेपछि बालीको वृद्धि विकासमा अवरोध र किरा लाग्ने लगायतका समस्या देखिएको थियो । वर्षा शुरु भएसँगै यस पटकको तरकारी उत्पादन पनि राम्रो हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मोरङका सूचना अधिकारी आदर्शकुमार सिंहले बताए ।

उनले पानी परेसँगै किसान र कृषिजन्य उत्पादनमा राहत मिलेको बताए । मोरङमा भने कुल १० हजार ११३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !