१२ श्रावण २०८१, शनिबार

गगन थापामाथि खनिए ओली, संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप

प्रकाशित मिति :  15 May, 2024 4:45 pm


काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको बताएका छन् ।

बुधवार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रस्तुत भएर उदण्डता देखाएको बताएका हुन् । उनले सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन भएको बताए ।

उनले नेपाली काँग्रेसको सभामुखसँग बोल्ने भाषा यही हो ? भनेर जवाफ समेत माग गरे । उनले काँग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको हो भनि प्रश्न समेत गरे । उनले नेपाली काँग्रेस राजनीतिक अभिष्ट पूरा नभएपछि अरूलाई अपराधि करार गर्न लागेको बताउँदै भ्रष्टाचारमा दोषि करार भएका काँग्रेसका सांसदले कुनै मुद्दा नभएको मानिसउपर छानविन गर्न समिति गठन गर भनि नाराबाजी गरेको भन्दै काँग्रेसलाई सरम हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने बताए । उनले लामिछानेलाई आरोपित गरिएको भन्दै आरोपित व्यक्तिले बोल्न र सफाइ दिन पाउनुपर्ने बताए ।

उनले भने,”नेपाली काँग्रेसले पाखुरा देखाएको भरमा, मसलको राजनीति गरेको भरमा हामी लत्रिदिनु पर्ने ? आरोपित गरिएको व्यक्ति बोल्न र सफाइ दिन पाउनुपर्छ । पहिलो कुरा नै त्यहीँ हो । बोल्न पाउनुपर्छ । अब अर्कोदिन बाट हामी पनि बोल्न खोज्छौँ । पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ । होइन भने हामी बोल्छौँ । कांग्रेसले चाहीँ आरोपित गरिरहने । बकवास गरिरहने । अर्काले प्रतिवाद पनि गर्न नपाउने ? त्यस्तो न प्रजातन्त्र हुन्छ । न संसदीय अभ्यास हुन्छ । त्यसकारण मर्यादित संसदीय अभ्यासका लागि हामी सर्मपित छौँ ।”

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई नेपाली काँग्रेसले डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको दाबी पनि गरे ।



प्रतिक्रिया दिनुहोस !