१६ बैशाख २०८१, आइतबार

कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेश शीर्ष स्थानमा, प्रदेश-५ को १४ दशमलव १८ प्रतिशत योगदान

प्रकाशित मिति :  12 May, 2020 7:06 pm


काठमाण्डौं, ३० वैशाख । 

मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा मुलुकको सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेश शीर्षस्थानमा देखिएको छ । कूल जिडिपीमा बागमती प्रदेशको योगदान ३५.८४ प्रतिशत रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कूल ग्रार्हस्थ्य उत्पादन तथ्याङ्कमा बाग्मती प्रदेश सबल रहेको देखिएको हो ।

विभागका अनुसार बागमती प्रदेशको अर्थतन्त्रको आकार १३ खर्ब ५० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । मुलुकको कूल ३७ खर्ब ६७ अर्ब बराबरको जिडिपीमा बागमती प्रदेशको हिस्सा झण्डै एक तिहाइ बराबर रहेको छ ।

यसैगरी कूल जिडिपीमा प्रदेश १ को हिस्सा १५.८२, प्रदेश ५ को हिस्सा १४.१८, प्रदेश २ को हिस्सा १३.७८, गण्डकी प्रदेशको हिस्सा ८.९, सुदूरपश्चिमको हिस्सा ७.२१ र कर्णाली प्रदेशको हिस्सा ४.२७ प्रतिशत रहने विभागले अनुमान सार्वजनिक गरेको छ ।

विभागका अनुसार प्रदेश १ को पाँच खर्ब ९६ अर्ब, प्रदेश २ को पाँच खर्ब १९ अर्ब, बाग्मती प्रदेशको १३ खर्ब ५० अर्ब, गण्डकी प्रदेशको तीन खर्ब ३५ अर्ब, प्रदेश ५ को पाँच खर्ब ५४ अर्ब, कर्णाली प्रदेशको रु एक खर्ब ६१ अर्ब र सुदूरपश्चिम प्रदेशको दुई २ खर्ब ७२ अर्ब रुपैयाँ बराबरको अर्थतन्त्रको आकार हुने अनुमान गरिएको छ ।

यस्तै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा बाग्मती प्रदेश सबैभन्दा कमजोर रहने विभागको अनुमान छ । यस वर्ष सो प्रदेशको आर्थिक वृद्धिदर १.३ प्रतिशतमा सीमित हुने देखिएको छ ।

प्रदेश १ को ३.४१, प्रदेश २ को २.२८, गण्डकी प्रदेश २.६८, प्रदेश ५ को दुई र कर्णाली प्रदेशको ३.५६ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान छ । आर्थिक वृद्धिमा सबैभन्दा बलियो सुदूरपश्चिम प्रदेश हुने विभागको दाबी छ । सो प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत हुने अनुमान छ ।

कोरोनाका कारण मुलुकको समग्र अर्थतन्त्रमा ठूलो समस्या पैदा भएकाले सबै प्रदेशमा त्यसको प्रभाव पर्ने देखिएको छ । सरकारले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको भए पनि विभागले केही दिनपहिले सार्वजनिक गरेको तथ्याङ्कमा २.२७ प्रतिशतमा आर्थिक वृद्धि सीमित हुने प्रक्षेपण गरेको छ ।

सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका कारण आर्थिक गतिविधि पूर्णरुपमा ठप्प प्रायः छ ।



प्रतिक्रिया दिनुहोस !